
म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।
चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ३६ किलोमिटरको दूरी उनले दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गरे ।
अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुई घण्टा ५२ मिनेट ५१ सेकेन्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएका प्रतियोगिताको व्यवस्थापन गरेको भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए।
विजयी पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाइँदैछ ।