
काठमाडौं । कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली खेलाडी एरिका गुरुङ आज स्वदेश आइपुगेकी छन् । उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायतले एरिकालाई स्वागत गरे ।
मोरक्कोमा भएको कराते वान प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडीलाई हराएर कांस्य जितेकी थिइन् । महिला ६८ केजीमाथि तौल समूहमा उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन् ।
योसँगै उनी विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।