२०८२ जेठ ११, आइतवार , ०१:१६:४० बजे

Sajhamanch
'

रसुवाको गोसाइँकुण्डमा स्नान गर्न भक्तजन पुग्ने क्रम शुरू

आइतवार, जेठ ११, २०८२

रसुवा । पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजन पुग्ने क्रम शुरू भएको छ ।

गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत् आएका दुई सय ५० जनाभन्दा धेरै भक्तजन आज बिहान गोसाइँकुण्डतर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पर्सि १३ गते औँसीदेखि शुरू हुने विशेष मेलाका लागि भक्तजन गोसाइँकुण्ड पुग्ने क्रम शुरू भएको हो । मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अनुसार यस वर्ष दशहरा पर्वमा पाँच हजार जना भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अनुमान छ । रसुवाको धुञ्चेसम्म गाडीमा अनि पैदल यात्रामार्फत् तिवारी बगर, देउराली, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।

गङ्गादशहरामा १० दिन र जनैपूर्णिमामा पाँच दिनगरी वर्षको १५ दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ ।

सम्बन्धित खबर