
झापा । झापाको दमकमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ । गएराति ९ बजे अविरल वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका ९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे. १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ । साथै बोलेरोको अगाडीको भागसमेत कुच्चिएर क्षति भएको छ ।
सोही भवनको माथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानमा बस्ने कमला पोखरेल (भट्टराई) ले सञ्चालन गरेको दाजुभाइ पसलको छानोमा ट्रस झरी क्षति पुगेको छ । घटनाको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै हावाहुरीसँगै आएको पानीले दमक नगरपालिका वडा न.४ अडियामलमा अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेको छ ।
पोल ढलेर बाटो अवरोध भएसँगै बिजुलीको लाइन काटिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।