
झापा । सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा आधाले कमी आएकोे छ । सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को यही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो ।
तथ्याङ्कअनुसार दीर्घकालीन कुल आप्रवासनमा ५० प्रतिशतले कमी आएको बीबीसीले जनाएको छ । सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो ।
आप्रवासन बेलायतको राजनीतिमा महत्त्वपूर्ण मुद्दा बनेको छ । प्रधानमन्त्री केअर स्टार्मरले यही मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा अन्ततः नियन्त्रण फिर्ता लिने प्रतिबद्धता जनाएका थिए।