
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ।
शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा ५० विपन्न परिवारलाई झुल वितरण गरिएको हो ।
वडा शिलिङ बजेटबाट विनियोजित ५० हजार रुपैयाँ बराबरको झुल वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राले विपन्न समुदायलाई झुल हस्तान्तरण गरेका हुन् । उनले वडाले विपन्न समुदायलाई झुल प्रदान गरेर प्रशसनीय काम गरेको बताए ।
वडाध्यक्ष सिकिन पासवानले भने, “बर्खायामको सुरुवातसँगै लामखुट्टेको प्रकोप बढ्न थालेको छ । डेंगु, मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरूबाट स्थानीयहरूलाई जोगाउनका लागि हामीले यो कार्यक्रम ल्याएका हौ । विशेष गरी आदिवासी समुदायको बाहुल्यता रहेको वडामा लक्षित समूहका रूपमा उनीहरूलाई प्राथमिकतामा राखिएको छ ।”
झुल वितरणका लागि घरपरिवारको आर्थिक अवस्था, स्वास्थ्य जोखिमको अवस्था र स्थानीय सिफारिसको आधारमा लाभग्राही छनोट गरिएको वडाध्यक्ष पासवानले बताए ।
कार्यक्रममा स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले लामखुट्टे जन्य रोगका लक्षण, रोकथामका उपाय र व्यक्तिगत सरसफाइका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा वडा सचिव, स्वास्थ्यकर्मी, स्थानीय शिक्षक, सामुदायका प्रतिनिधिहरू र लाभग्राहीहरूको उपस्थिति थियो । सहभागीहरूले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
वडाले आगामी दिनमा अन्य स्वास्थ्य र सरसफाइ सम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।