
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मनसुनअघि नै जोखिमको अनुमान गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकले जोखिम अनुमान र विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए। बैठकमा सांसदहरूले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए। उनले नेपालमा बितेको १० वर्षमा आठ हजार ४४१ वटा मनसुनजन्य घटना भएका पनि जानकारी गराए।