२०८२ जेठ १७, शनिवार , ०८:१६:२० बजे

Sajhamanch
'

कुकुरलाई भरिया बनाएर लागुऔषध ओसारपसार

शुक्रवार, जेठ १६, २०८२

विराटनगर । बिहीबार साँझ ५ बजेतिर विराटनगरस्थित नेपाल-भारत सीमाको रानी नाकामा एक युवा कुकुर डोर्‍याउँदै हिडिरहेका थिए।

सीमा नाकामा खटिएका सुरक्षाकर्मीले उनी दिउँसो कुकुर डोर्‍याएरै भारतीय बजार जोगबनी जाँदै गरेको पनि देखेका थिए।

नाकाबाट नेपालतिर आउँदै गरेका ती युवालाई प्रहरीले रोकेर चेकजाँच गर्‍यो। उनको साथमा केही थिएन। तर, उनले डोर्‍याइरहेको कुकुरको घाँटीमा बाधिएको बेल्टमा प्रहरी नजर पर्यो, त्यहाँ प्रतिबन्धित लागूऔषध फेला पर्‍यो।

‘लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गरेको रहस्य यसरी खुल्यो,’ मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले भने, ‘शंका लागेर चेक गर्दा कुकुरको घाँटीबाट लागुऔषध फेला परेको हो।’

जोशीका अनुसार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी कुकुर लिएर जोगबनी गएका थिए। उनले फर्किँदा कुकुरलाइ लागुऔषध बोकाएको दाबी प्रहरीले गरेको छ।

रक्की नामको कुकुरको घाँटीबाट ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

भण्डारी र कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर