
काठमाडौं । आजदेखि शुरू भएको नवौं पीएम कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबले विजयी शुरुआत गरेका छन् ।
पोखरा रङ्गशालाको कभर्ड हलमा भएको पहिलो दिनको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै दोस्रो खेलमा एभरेस्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो ।
आजै पुरुषतर्फ चार वटा खेल हुँदैछन् । शुरूमा एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यस्तै हेल्प नेपाल र आर्मी, गण्डकी प्रदेश र कोशी प्रदेश तथा पुलिस र मणिमुकुन्द भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।
नेपाल भलिबल सङ्घको आयोजनामा एक हप्तासम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।