
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु. तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ ।
चालु आवको १० महिनामा १३ हजार ८८६ दशमलव ७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३ दशमलव ६० प्रतिशतले घटेको छ । चालु आवको दश महिनामा रु. छ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७ दशमलव ७०, सिआरसिट ६२ दशमलव २० प्रतिशत र मोलासिस निर्यातमा ८४४ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी सिमेन्ट क्लिङ्कर ३ दशमलव ९० प्रतिशत, छुर्पी १६ दशमलव २० प्रतिशत, अदुवा ५९ दशमलव ४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ ।मेची भन्सारबाट चालु आवको १० महिनामा रु. २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ ।