
विराटनगर । १८औं गणतन्त्र दिवसको दिन कोशी प्रदेश सरकारले पत्रकारितामा क्रियाशील रहेका ७ जना अग्रज पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सक्रिय पत्रकारिता गरिरहेका ७ जना पत्रकारलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी र विमल लामिछाने, रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरूल, धनकुटाका राजेशबहादुर श्रेष्ठ, सुनसरीका यसोदा सेने र मोरङका मनोजकुमार दाहाल रहेका छन् ।
यस्तै कार्यक्रममा प्रदेशभरबाट निबन्ध लेखनमा उत्कृष्ट भएका ५ विद्यार्थी र ५ लेखकलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन नसक्ने बताए ।
कमी कमजोरी विनाको सुधारिएको लोकतन्त्र अबको गन्तब्य हुने बताउँदै मुख्यमन्त्री कार्कीले आफ्ना मतदाताको मत नभएका अर्का पार्टीका मतदाताले चुनाव जिताउनु पर्ने बैशाखी टेकेर हिड्नेहरूले संघीय लोकतान्त्रिक गणतन्त्र फाल्ने उद्घोष आफैंमा हाँसउठ्दो घटना भएको भनी टिप्पणीसमेत गरेका छन् ।