
झापा । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । तथापि आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्दै आएका छन् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ।
झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे अहिले सभामुख छन् । प्रतिनिधिसभाको सभामुख भएपछिको व्यस्तताले सदन नभएको बेला देश विदेशका कार्यक्रमसँगै आफ्नो निर्वाचन क्षेत्र आउने जाने गरेका छन् ।
उनले पछिल्लो आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न दुःखमा परेको परिवारसँगको भेटघाटलाई प्राथमिकता दिँदै आएका छन् । विभिन्न कार्यक्रमको सिलसिलामा झापा क्षेत्र नं २ मा सहभागी हुँदा सभामुख घिमिरेले मरिमराउ भएको घरमा समवेदना लिएर जाने गरेका छन् ।
समवेदनाको कार्यक्रमलाई सभामुख घिमिरेको अनुपस्थितिमा पनि निरन्तरता दिने गरिएको सचिवालयका सदस्य हिमाल मैनालीले जानकारी दिए । मैनालीका अनुसार सभामुख आएका बेला समय मिलाएर आफैं जाने गर्छन् । ‘बाँकी समय हामीले नै लिएर जाने गरेका छौं’ उनले भने, ‘सभामुखको अनुपस्थितिमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंसहित जनप्रतिनिधिहरु, स्थानीय अगुवाहरुमार्फत समवेदनापत्र लिएर जाने गरेका छौं ।’
सचिवालय सदस्य मैनालीले जेठ १५ गतेसम्म १ हजार ६१५ परिवारमा सभामुखको समवेदना पठाइएको छ । बिर्तामोड, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र क्षेत्र बाहिर पनि समवेदना पुर्याउने गरिएको मैनालीले जानकारी दिए ।
पहिलो वर्ष ३९५, दोस्रो वर्ष ७८० र तेस्रो वर्षको जेठ १५ सम्म ४४२ परिवारमा सभामुखको समवेदनापत्र पुर्याइएको छ । मैनालीका अनुसार क्षेत्र बाहिर ५६ परिवारमा समवेदना पुर्याइएको छ ।
‘‘सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा सूचना पाएसम्म समवेदना पठाउने गर्नुभएको छ । आफू आउन नसक्दा पनि उहाँबाट परिवारमा समवेदना पुग्दा शोकमा रहेको परिवारले गौरव गर्नुहुन्छ’ मैनालीले भनेका छन् ।