२०८२ जेठ ९, बिहिवार , ०९:२८:३६ बजे

Sajhamanch
'

मेचीनगरका महिलालाई उद्यमशीलता तालिम

बिहिवार, जेठ ९, २०८२

मेचीनगर । राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रवर्धन कार्यक्रमका लागि मेचीनगरमा साबुन, सर्फ, ट्वाइलेट क्लिनर र फिनेल बनाउने उद्यमशीलता तालिम सुरु गरिएको छ ।

मेचीनगर नगरपालिकाले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नारासहित राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रवर्धन कार्यक्रममा यहाँका महिलालाई यस्तो तालिम दिएको हो । बुधबार मेचीनगर–८ स्थित सीप विकास केन्द्रको नयाँ भवनमा सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् । तालिम उद्घाटन गर्दै उपप्रमुख पोखरेलले महिलालाई सीप सिकाएर उद्यमी बनाउने लक्ष्यसहित विभिन्न प्रकारका कार्यक्रम र तालिमहरु सुरु गरिएको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशसाकीय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्य कविता खनाल मिजार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सुरु तालिमको महिला विकास अधिकृत जयन्ती खरेलले स्वागतसहित औचित्य माथि प्रकाश पारेकी थिइन् ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजकका रुपमा जिल्ला लघु उद्यमी समूह संघ झापा रहेको छ ।

उक्त संघका अध्यक्ष निर्मला चौहान भण्डारीले तालिमको सहजीकरण गरिरहेकी छन् । तालिममा मेचीनगरका ३० जना महिलाहरु सहभागी छन् ।

सम्बन्धित खबर