
काठमाडौं । विश्वकप लिग–टु मा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ । नेदरल्यान्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । लिग–टुको आफ्नो चौथो राउन्डको खेलका लागि स्कटल्यान्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्यान्ड्ससँग खेल्ने छ ।
यही जेठ २१ र २७ गते नेपाल र नेदरल्यान्ड्सको खेल रहेको छ । लिग–टु मा ८ टोली सहभागी छन् । यो शृङ्खलाका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्ने छ ।
लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउनेछन् ।
नेपाल १२ खेलमा ६ अङ्कका साथ लिगको पुछारमा रहेको छ । चौथो राउन्डमा नेपालसँग खेल्ने स्कटल्यान्ड १६ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स भने २० खेलमा २६ अङ्कका साथ दोस्रो स्थानमा छ ।
लिग–टु को खेलपछि असार १ गतेदेखि नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचमा त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खला हुनेछ ।