
काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने जनाएको हो ।
जेठ १८ गतेदेखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ ।
विभागका अनुसार यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । यस्तै अधिकतम तापक्रम र न्यूनतम ताक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।
अनुमान सार्वजनिक गर्दै विभागकी प्रवक्ता एवम् वरिष्ठ मोसमविद् विभूति पोख्रेलले प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भई माटोको चिस्यान बढेकाले मनसुनको शुरुआतमा हुने वर्षाले पनि क्षति पुर्याउन सक्ने बताए।
वर्षा राम्रो हुँदा बालीनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने भएकाले सावधानी अपाउनुपर्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनालले बताए।