
काठमाडौं । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।
कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका खड्का केही वर्षदेखि कन्यासर रोगबाट पीडित थिए । वि.सं. १९९९ साउन १९ गते जन्मिएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला सभापति थिए ।
खड्का वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा र २०६४ मा संविधान सभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।
उनी २०५२ मंसिरमा भौतिक योजना, निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उनले पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना भोगेका थिए ।
खड्काको निधनप्रति कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस दैलेखका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गणेशबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ’, देउवाले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।