
मेचीनगर । मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नो एकवर्षे कार्यक्रमको समीक्षा गरेको छ ।
बुधबार मेचीनगर ११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको सिमसार क्षेत्रमा मेचीनगरका १५ वटै वडाका सूचीकृत मेलमिलापकर्ता र न्यायिक समितिबीच वार्षिक कार्यक्रमहरुको समीक्षा गरिएको हो ।
सो कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मेलमिलापकर्ताहरुले जनतालाई विना पैसा निःशुल्क सेवा दिएर नगरमा सुशासन कायम गरिरहेको बताएका छन् ।
वडामा आएका थुप्रै मुद्दाहरुलाई मेलमिलापकर्ताहरुले विना पैसा, विना झनझट न्यायिक सम्पादन गरिरहेको उनले बताए ।
सो कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले कार्यक्रमको समीक्षा गर्दै मेलमिलापकर्ताहरु जनप्रतिनिधि नभए पनि जनतामैत्री न्याय समितिको रुपमा काम गरिरहेको बताइन् ।
आफ्नो अधिकार क्षेत्र भित्र पर्ने धेरै जनताका मुद्दाहरु निरुपण गरिएको उनको भनाई छ । उनले केही मिल्नै नसक्ने मुद्दाहरु जिल्ला अदालत पठाउने गरिएको बताइन् ।
समीक्षा कार्यक्रममा सबै वडाबाट एक–एकजना मेलमिलापकर्ताहरुले वडामा भए गरेका कामका बारेमा चर्चा गरेका थिए ।
यसअघि सबै वडाका सचिव र मेलमिलापकर्ताहरुलाई पुनःताजगी तालिम, क्षमता अभिवृद्वि, अन्तरपालिका अध्ययन अवलोकन भ्रमण लगायतका कार्यहरु गरिएको न्यायिक समितिका अधिकृत इन्दिरा खरेलले जानकारी दिइन् ।
उनका अनुसार न्यायिक समितिमा यही जेठ ५ गतेसम्म आएका १३३ वटा मुद्दामध्ये ५५ वटा फछ्र्यौट र सिफारिस गरिएको छ । बाँकी रहेका ७८ वटा मुद्दा विचारधीन अवस्थामा रहेका छन् ।
कार्यक्रममा न्यायिक समितिका कानूनी सल्लाहकार इन्द्रकमल प्रधानले मेलमिलापकर्ताहरुका लागि आएको नयाँ फर्मेटका विषयमा जानकारी गराएका थिए ।
उपप्रमुख एवम् न्यायिक समितिका संयोजक उप्रेतीको अध्यक्षतामा आयोजित वार्षिक समीक्षा कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।