
गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । राष्ट्रसङ्घका अनुसार ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री भने वितरण भएको छैन ।इजरायली अधिकारीहरूले हिजो ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन् । ट्रकमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधिसहितको सहायता सामग्री रहेका बीबीसीले जनाएको छ ।
इजरायलले गएको् आइतवार गाजामा केही मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिन सहमति जनाएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सहमतिअनुसार सहायता वितरण गर्न नसकेको बताएको छ ।
विश्वव्यापी विज्ञहरूले गाजामा अनिकालको चेतावनी दिएर इजरायलले गाजामा सहायता सामग्री आपूर्ति रोक्न नहुने दबाब दिइरहेका छन् । तर इजरायलले कसैको दबाब पनि स्वीकार नगरेको राष्ट्रसङ्घको आरोप छ ।
संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजाको दीर्घकालीन मानवीय सङ्कटलाई सम्बोधन शुरू गर्न प्रति दिन ६ सय ट्रक आवश्यक पर्ने अनुमान गरेका छन् ।राष्ट्रसङ्घले तत्काल खाद्यान्न वितरण हुन नसकेमा १४ हजार शिशुले ज्यान गुमाउने चेतावनी दिएको छ ।एजेन्सी