
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
कछुवारीदेखि दाहाल गाउँसम्मको ७५३ मिटर खण्डमा आज कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । भोलिसम्ममा उक्त खण्डमा कालोपत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिएका छन्।
सो खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको काम भइरहेको हो ।
सो मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भइरहेको जनाइएको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट काम भईरहेको हो । सो खण्डमा सबवेसको काम सम्पन्न भएकोले केही दिन भित्रमा कालोपत्रे गरिने वडाअध्यक्ष किशोरकुमारपौडेलले जानकारी दिएका छन् ।
यस्तै चारपाने–राजगढ सडकको घैलाडुब्बा चोक पश्चिम घाग्रा पूलसम्मको १ किलोमिटर खण्डमा भौतिक योजना मन्त्रालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रालिले काम गर्दैछ । सो क्षेत्रमा अलि गहिरो भाग रहेकोले प्लम निर्माणको काम द्रुत गतिमा भइरहेको र जेठ महिना भरमा कालोपत्रे गर्ने चरणमा पुग्ने वडाअध्यक्ष पौडेलले बताए ।
बिर्तामोडमा गोकुल जोशी मार्गसंगै बुट्टाबारी–प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, सहिद चन्द्रमार्गमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको हो ।