२०८२ जेठ ६, सोमवार , ०२:२३:३२ बजे

Sajhamanch
'

मोटरसाइकल चोरीमा संलग्न परिवारिक गिरोह बिर्तामोडबाट पक्राउ

सोमवार, जेठ ६, २०८२

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाईलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी र कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गर्दै मोटरसाइकल खरिद गर्ने बिर्तामोड ७ का जागिर आलमसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

चोरीमा संलग्न एक जना फरार रहेको डिएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ४ वटा मोटरसाइकल र एउटा अटो समेत बरामत गरेको छ ।

प्रहरीले सुरुमा सिसि क्यामेराको माध्यमबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा कुमार राजवंशीलाई पक्राउ गरेको थियो । सो घटनामा अनुसन्धान गर्दै जाँदा प्रहरीले अन्य ३ जनालाई पक्राउ गर्न सफल भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार ग्यारेज सञ्चालक आलमले २२० सीसीको पल्सर मोटरसाइकल २२ हजारमा खरिद गरेका थिए । उनले बिर्तामोड बसपार्कमा ग्यारेज सञ्चालन गर्दै आएका छन् ।

प्रहरीका अनुसार अटो रिक्सा बैशाख ६ गते राती २ः३० बजे अर्जुनधारा ५ मुसी चोकमा गंगाप्रसाद तिम्सिनाको घरको कम्पाण्डबाट चोरी चएको थियो । यस्तै, एभेन्जर मोटरसाइकल अर्जुनधारा ५ बिहीवारे टोलस्थित दिपेन्द्र लम्सालको कम्पाउडबाट चोरी भएको थियो ।

सुपर स्प्लेण्डर मोटरसाइल बिर्तामोड ३ दुर्गा मन्दिर पछाडि पार्किङ गरेको ठाँउँबाट चोरी भएको थियो । यस्तै, २२० सीसीको पल्सर अर्जुनधारा ६ कप्तानबारीस्थित केशवकुमार लिम्बूको घरबाट चोरी भएको र टिभिएस मोटरसाइकल बिर्तामोड २ चारपानेस्थित पाथिभरा टोल बस्ने अर्जुन खनालको घरबाट चोरी भएको प्रहरीको भनाई छ ।

प्रहरीले अटो चेकजाँकका क्रममा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको अटोको कागजात परीक्षण गर्दा चोरी भएको पुष्टि भएको थियो । जेठ ४ गते अटोमा प्रदिप राजवंशी र उनको जेठा दाजु रन्जित राजवंशीलाई अटोसहित नियन्त्रणमा लिइएको थियो ।

पल्सर मोटरसाइकल ग्यारेज सञ्चालक आलमको डेरामा नियन्त्रणमा लिइएको थियो भने टिभीएस कुमार राजवंशीले भद्रपुर क्षेत्रमा चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । डिएसपी श्रेष्ठका अनुसार उनीहरु विरुद्ध चोरी कसुरमा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर