२०८२ जेठ ६, सोमवार , ०८:३८:१९ बजे

Sajhamanch
'

बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृया सम्पन्न

आइतवार, जेठ ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् ।

प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृयामा सम्बद्ध सञ्चारकर्मीहरुले सबै किसिमका विकासका लागि नागरिकलाई सुसूचित गर्दै चेतनाको विकासलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

नगरबासीलाई सुसूचित गराएर मात्रै नगरपालिकाले निर्वाध रुपमा भौतिक पूर्वाधार, सामाजिक, शैक्षिक तथा नैतिक क्षेत्रमा विकास गर्न सक्ने उनीहरुको भनाई छ ।

विकास गरिँदा पूर्वाधार संरचना चाँडै जीर्ण नहुने र दीर्घकालीन रुपमा उपयोग गर्न सकिने उनीहरुको आशय थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राईले बिर्तामोडको समग्र विकास योजनाका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपुर्ण हुने भएकाले नगरपालिकाले सञ्चारकर्मीसँग समन्वय गरेर अघि बढ्नु फलदायी हुने सुझाए ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले सञ्चारकर्मीको सहभागिताले मात्रै स्थानीय तहको समग्र र दीगो विकास हुने धारणा राखे । उनले बिर्तामोड नगरपालिकाले सञ्चार कानुन बनाएर सञ्चार गृहलाई सम्बोधन गर्नसमेत सुझाव दिएका थिए ।

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले बिर्तामोड नगरपालिकाले केहीवर्ष यता विकास निर्माणमा गरेको लगानीले र अथक मेहनत अनुकरणीय भएको बताए । उनले बिर्तामोड नगरपालिकाले सञ्चार गृहलाई लोककल्याणकारी विज्ञानमार्फत सुविधा उपलब्ध गराउँदै आएपनि सुविधा लिँदै आएका सञ्चारमाध्यमले नगरको विकासमा ध्यान नपुर्याएको आरोप लगाए ।

त्यसै नारी सञ्चार गृह झापाका पूर्वअध्यक्ष भीमा शिवाकोटीले आम नागरिकको विकासका लागि नगरले नयाँ ढंगले योजना अघि सार्नुपर्नेमा जोड दिइन् ।

संचारिका समूह झापाका अध्यक्ष लीला अनमोलले मानिसको चेतनाको विकास बिना गरिएका भौतिक पूर्वाधार विकास निर्माणका संरचना टिकाउ नहुने भएकाले त्यसतर्फ नगर नेतृत्वले सोच्नुपर्नेमा जोड दिइन् ।

आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष अर्जुन राजवंशीले नगरपालिकाले लोककल्याणकारी विज्ञापनको नाउँमा केही सञ्चार गृहलाई मात्रै सम्बोधन गरेकाले आगामी दिनमा सुधार गर्न आग्रह गरे ।

अन्तरकृयामा सहभागीहरु नेपाल टेलिभिजनका डिकेश लामा र इन्द्रजित मुखिया, कान्तिपुर टेलिभिजनका गणेशमान मुखिया, प्रतिदिन दैनिकका इन्द्रसिह राजवंशी, रेडियो भिजनका पुष्प बराल, पर्यटन पत्रकार मन्च झापाका बिनोद पाण्डे लगायतले नगरपालिकाले गर्नैपर्ने विकास निर्माण र सुधार गर्नुपर्ने विषय माथि सवालसहित ध्यानाकर्षण गराएका थिए ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले राज्यको ठोस नीति कार्यक्रम नहुँदा जनताको अपेक्षाअनुसार वडा र नगरमा काम गर्न नसकेको स्वीकार गरेका थिए ।

सानो बजेट त्यसमा धेरै कार्यक्रम सम्बोधन गर्नुपर्ने बाध्यताका कारण जनप्रतिनिधिले त्यसको सामना गर्नुपरेको तीतो यथार्थ रहेको वडाध्यक्ष बुढाथोकीले बताएका थिए ।

वडा नम्बर ४ का वडा सदस्य उमेश राउतले स्थानीय नागरिकको अपेक्षा शिक्षा, स्वास्थ्य, रोजगारी र चेतनाको विकासमा भन्दा पूर्वाधार विकासमा नगरपालिकाको योजना धेरै रहेकाले त्यसलाई आगामी दिनमा सुधार गरेर लैजानुपर्ने आवश्यकता औंल्याएका थिए ।

पत्रकारहरुले उठाएका सवालमाथि कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रादेवी महतरा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरपालिकाको सामाजिक, भौतिक, नैतिक लगायत विकास निर्माण तथा कार्यसम्पादनको बारेमा जानकारीसहित सहजीकरण गरेका थिए ।

नगर प्रमुख महतराले बिर्तामोडको विकासका लागि भ्रष्टाचाररहित, गुणस्तरसहितका योजनाहरु अघि सारिएकाले राम्रो कार्यसम्पादनलाई राम्रो भनेर र नराम्रोलाई सुधारका लागि सञ्चारकर्मीले महत्त्वपूर्ण सुझाव दिएर भूमिका खेल्न आग्रह गरिन् ।

कार्यक्रममा झापा जिल्लामा कार्यक्षेत्र बनाएर प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव पदमा निर्वाचित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपिन राई र केन्द्रीय सदस्य पदमा निर्वाचित सुखानी आवाजका सम्पादक राजु पाठकलाई प्रेस सेन्टर झापाले बधाई ज्ञापन गरेको छ ।

उनीहरुलाई कार्यक्रमका अतिथि एवम् संगठनका जिल्ला अध्यक्ष पुष्प खड्काले खादा र अबिर लगाएर बधाई ज्ञापन गरेका हुन् ।

संगठनका अध्यक्ष खड्काको अध्यक्षतामा आयोजित अन्तरकृयामा उपस्थितहरुलाई उपाध्यक्ष होमप्रकाश अधिकारीले शाब्दिक स्वागत र सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।

सम्बन्धित खबर