
गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा पुरातात्विक भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर उत्खनन समेत गरेको छ । भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुन सक्ने अनुमान समेत गरिएको छ ।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिले गएको वर्ष लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो ।
काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको झन्डै एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको थियो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।
विभागका अधिकृत अधिकारीका अनुसार भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा भेटिएका छन् । साथै तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्। तर समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनको भनाइ छ । अब अर्को वर्ष थप कामलाई निरन्तरता दिने तयारी छ ।
सबै भाग उत्खनन गरेर अध्ययनपछि मात्र विस्तृत जानकारी आउने अधिकृत अधिकारीले बताउनुभएको छ । उनका अनुसार विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने हुन्छ । तत्काल छेपेटार क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयबासिन्दा र निकायलाई आग्रह समेत गरेको छ ।