
मेचीनगर । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले शहीद वीरेन राजवंशी छात्रवृति रकम प्रदान गरेको छ ।
विद्यालयको सभाहलमा शुक्रबार आयोजित वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम प्रदान गरिएको हो ।
कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलले जानकारी दिए ।
सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यार्थीहरुलाई छात्रवृति रकम हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले विद्यालयलाई छात्रवृतिका लागि १० लाख ४० हजार रुपैयाँ छुट्टाएको थियो ।
२०२८ सालको झापा विद्रोहमा पक्राउ परेका मेचीनगर १५ स्थित ज्यामिरगढी निवासी वामपन्थी नेता राजवंशीसहित ५ जनालाई २०२९ फागुन २१ गते झापा प्रहरीले जेल सार्ने नाममा इलाम लाने भनेर सुखानीको जंगलमा गोली हानेर मारेको थियो ।
नगरपालिकाले उनै राजवंशीको स्मृतिमा प्रत्येक वर्ष शहीद वीरेन राजवंशी छात्रवृति रकम वितरण गर्दै आएको छ ।
सो कार्यक्रममा नगरप्रमुख बुढाथोकीले विद्यालयको गीत डिजिटल कम्युटरमा थिचेर लोकार्पण गरे ।
सबैका लागि शिक्षा सबैका लागि खेलकुद
प्राविधिक धारसहित आधार यसको मजवुद
धुलाबारी मावि ………
बोलको गीत शिक्षक मिलनकुमार ढुंगानाको शब्द रचना रहेको छ ।
भविन ढुंगानाको संगीत, भानुभक्त ढकाल, रोशा फुयल, सुनिता तामाङ र भविन ढुंगानाको स्वर, कुशलसिंह नाइलको एरेन्ज, श्याम बागदासको मिक्सिङ, डो रे मी स्टुडियो काठमाडौँले गीतको रेकर्डिङ गरेको हो ।
सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख बुढाथोकीले छात्रवृतिको रकमले विद्यार्थीलाई शिक्षाप्रति हौसला प्रदान गर्ने बताए । उनले विद्यालयको गीतलाई विहानको भजन बजाए जसरी बजाउन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास समिति संयोजक ह्दय राजवंशी, धुलाबारी मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुब कनाल, प्रधानाध्यापक लुइटेल, गीतका शब्द रचनाकार शिक्षक ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कोशी प्रदेशमा नै उत्कृष्ट रहेको विद्यालयमा ३ हजार भन्दा बढी विद्यार्थीहरु पढ्ने गर्छन् ।
धुलाबारी माविका व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले र सञ्चालन शिक्षक रमेश दाहालले गरेका थिए ।