२०८२ जेठ ५, आइतवार , ०९:२८:१० बजे

Sajhamanch
'

दमक नगरपालिकाको फोहोर फाल्न चुलाचुलीबासीको अवरोध

आइतवार, जेठ ५, २०८२

उमानाथ भण्डारी

चुलाचुली (इलाम) । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित फोहोर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्रबाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आएको भन्दै इलामको चुलाचुली ५ का बासिन्दाहरुले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन् ।

प्रशोधन केन्द्रलाई ब्यवस्थित नगरी खुल्ला रुपमा फोहोर फालेका कारण मानव बस्तीमा प्रत्यक्ष असार परेको र स्थानीयबासीमा झाडापखाला, श्वाशप्रश्वास, हैंजाजस्ता रोगहरुले निरन्तर सताइरहेको भन्दै स्थानीयले शनिबारदेखि फोहोर फाल्न अवरोध गरेका हुन् ।

दमक नगरपालिकाले हाम्रो मागलाई वेवास्ता गरेका कारण संघर्ष समिति बनाएर सडक आन्दोलनमा उत्रन बाध्य पारेको संघर्ष समितिका संयोजक तथा चुलाचुली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बबिन राइले बताए ।

‘हाम्रो अवरोधका कारण दमक नगरबासीहरुको घरमा उत्पादन भएको फोहोर बिसर्जनमा पर्न गएको असरप्रति सम्पूर्ण चुलाचुलीबासी चिन्तित छौं । तर फोहोरको दुर्गन्धबाट चुलाचुलीबासीको स्वास्थ्यमा आएको समस्याको जिम्मा दमक नगरपालिकाले लिनुपर्छ’ अध्यक्ष राईले आन्दोलनको गुप्त रहस्य खुलाए ।

दमक नगरबाट निस्किएको फोहोरमैला व्यावस्थापन कार्य चुस्त नभएको र यसबाट चुलाचुलीका बासिन्दालाई समस्या आएको विषयमा दमक नगरपालिकालाई पटक–पटक जानकारी गराउँदासमेत सो प्रशोधन केन्द्रलाई ब्यवस्थित गर्नुको सट्टा झन् खुल्लारुपमा फोहोर फाल्ने गरेकोमा विरोध गर्नु परेको स्थानीयको भनाई छ ।

जेठ १ गते चुलाचुली गाउँपालिकाको तर्फबाट दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र पठाइएको र जेठ २ गते वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर फोहोरमैला फाल्ने कार्यलाई बेवास्था गरेको भनी अवरोधका कार्यक्रम सार्वजानिक गरिएको थियो ।

चुलाचुली गाउँपालिकाका तर्फबाट दमक नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत सो को बेवास्ता गरेका कारण शनिबार उक्त प्रशोधन केन्द्रमा फोहोर बोकेर आएका सम्पूर्ण सवारी साधनलाई फिर्ता पठाइएको छ ।

चुलाचुलीबासीको फोहोर फाल्ने अवरोधका विषयमा प्रशोधन केन्द्र रहेको दमक नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष प्रजापति सापकोटा चाहिँ हामीले आफ्नै भूगोलमा नगरबाट उत्पादित फोहोरलाई व्यवस्थापन गरिरहेको बताउँछन् ।

‘यद्यपी फोहोरको डम्पिङ साइटबाट उत्पन्न दुर्गन्ध नै अहिलेको प्रमुख समस्या भएकाले यसलाई हामी दुवै पालिकाका सरोकारवाला पक्ष बसेर समाधान गर्नेछौं’ वडाध्यक्ष सापकोटाको भनाई छ ।

सम्बन्धित खबर