
काठमाडौं । देशभर गर्मी बढ्दै गएको छ । मधेश प्रदेशसहित अरू प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ ।
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने र काठमाडौंको तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान छ । देशभर गर्मी बढिरहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव कायमै रहेकोले केही ठाउँमा वर्षा हुने सम्भावना छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।