२०८२ जेठ २, बिहिवार , १०:२९:३९ बजे

Sajhamanch
'

झापामा ब्राउनसुगरको कारोबार गर्ने तीन जना २ लाख ४३ हजार नगदसहित पक्राउ

बिहिवार, जेठ २, २०८२

झापा । झापा प्रहरीले लागुऔषध ब्राउनसुगरको ठुलो मात्रामा कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक १००.०९० ग्राम ब्राउन सुगर, २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद र एउटा कार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ साढे ५ बजेको समयमा भारतीय मोटरसाइकलमा गौरीगञ्ज आएका भारत किसनगञ्ज जिल्ला खननियाबाद-७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेका थिए ।

उनको साथमा रहेको मोबाइल चेक गर्ने क्रममा लागुऔषध पठाएको भिडियो प्रहरीले भेटेपछि खोजतलासको क्रममा किसनगञ्ज जिल्ला खननियाबाद ५ फत्तेपुरका ५८ वर्षीय भोला ठाकुरसँग रहेको भन्ने सूचना पाएको थियो ।

प्रहरीले ठाकुरलाई खोजतलास गर्ने क्रममा गौरीगञ्ज-३ बाट ब्राउन सुगरसहित नित्राजेपाम १०० ट्याब्लेट, कमोडिनफोस्फेट नाम सिरप २ बोतल बरामद गरेको थियो ।

उक्त लागुऔषध खरिद गर्न आउने दमक नगरपालिका-५ का सञ्जय भन्ने भूपेन्द्र राईलाई गौरीगञ्ज गाउँपालिका-३ मा ना १ च ९१६२ नम्बरको कारभित्र बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

उनले लागुऔषध खरिद गर्न बोकेको २ लाख ४३ हजार ५ सय रुपैयाँ र साथमा भएको आईफोन मोबाइल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थानसमेत फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

सम्बन्धित खबर