२०८२ वैशाख २८, आइतवार , ०४:१०:५७ बजे

Sajhamanch
'

युद्धविरामपछि यही महिना आईपीएल फेरि शुरू गर्ने बीसीसीआईको लक्ष्य

आइतवार, वैशाख २८, २०८२

झापा । भारत र पाकिस्तानबीच हिजो युद्धविराम घोषणा भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यही महिना इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू गर्ने दिशामा कदम चाल्न थालेको छ ।

भारत–पाकिस्तान सीमामा तनावका कारण बीसीसीआईले गएको शुक्रवार आईपीएल एक हप्ताका लागि स्थगित गरेको थियो । मे ८ मा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा रोक्नुपरेको थियो ।

आईपीएल फ्रेन्चाइजीहरूका सबैभन्दा ठूलो चुनौती भनेको विदेशी खेलाडी र प्रशिक्षक कर्मचारीहरूलाई फिर्ता ल्याउनु हो । भारत–पाकिस्तानबीच तनावका कारण धेरैजसो गएको शुक्रवार र शनिवार भारतबाट बाहिरिएका थिए ।

खेलाडीहरूलाई सकेसम्म चाँडो फिर्ता सुनिश्चित गर्न टोलीहरूले विकल्पहरू खोजिरहेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

यही महिना आईपीएल फेरि शुरू भएमा विदेशी खेलाडीहरू भारत फर्कने आशा फ्रेन्चाइजहरूले राखेका थिए । तर धेरै खेलाडीहरूले द्विपक्षीय शृङ्खलामा पनि भाग लिनुपर्ने भएकाले आईपीएलको पूर्वनिर्धारित फाइनल मिति मे २५ भन्दा पछि पनि प्रतियोगिता अगाडि बढ्छ कि बढ्दैन भन्नेमा उनीहरू पूर्णरूपमा निश्चित थिएनन् । यस्तै आउँदो जुन ११ देखि अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच लर्ड्समा विश्व टेस्ट च्याम्पियनशिपको फाइनल शुरू हुने तय भएको छ ।

आईपीएलको यो सिजनमा लिगका १२ र ४ वटा प्लेअफ खेल बाँकी छन् । प्रतियोगिताका बाँकी खेलहरू भारतका दक्षिणी शहरहरू– बेङ्गलुरु, चेन्नई र हैदराबादमा खेलाउन सकिने सम्भावना छ ।

चेन्नई सुपर किङ्ग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफ दौडबाट बाहिरिएका छन् । यद्यपि स्थगित भएको पन्जाब र दिल्लीबीचको खेल फेरि खेलाउने वा नखेलाउने भन्ने बारेमा आईपीएलले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सम्बन्धित खबर