
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले लोकसेवा आधारभूत निःशुल्क कक्षा सञ्चालन गरेको छ । नगरपालिका शिक्षा शाखाको आयोजनामा राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा सञ्चालन गरिएको हो ।
लोकसेवाको परीक्षा दिन इच्छुक परीक्षार्थीहरुलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए । कक्षा सञ्चालनको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले परीक्षार्थीहरुमा विदेश पढ्न जाने क्रमशः चलिरहेका बेला नेपाल मै केही गर्छु भन्ने उद्दे्रश्य राखेर लोकसेवा परीक्षा तयारीका लागि पढ्न आउनेहरुलाई धन्यवाद दिए ।
उहाँले विद्यार्थीहरुलाई हौसला दिँदै तपाईंहरुले देशको सेवा गर्ने हिम्मत गर्नु भएको सराहनीय रहेको बताउनु भयो । नेपालमा अहिले वास्तविकता नबुझी सामाजिक सञ्जालमा अराजक गतिविधि गर्नेक्रम बढेकाले कम्तिमा पनि भाइ बहिनीहरुले यस्ता कुराहरु बुझेर मात्र सामाजिक सञ्जाल चलाउन नगरप्रमुख थोप्राले सुझाउनु भयो ।
लोकसेवा तयारी कक्षा गएको ५ गतेबाट सञ्चालनमा आएको हो भने ५० दिनसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । लोकसेवाको तयारी कक्षामा एनसिआई एजुकेशन फाउण्डेसन दमकले सहजीकरण गरिरहेको छ ।
कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज सेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो । शिक्षा शाखा प्रमुख छवि ढकालको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरका कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए ।