२०८२ वैशाख २२, सोमवार , ०४:४६:४३ बजे

Sajhamanch
'

सामाजिक सञ्जाल प्रयोग र दुरुपयोग सम्बन्धी बिर्तामोडमा अन्तरक्रिया

सोमवार, वैशाख २२, २०८२

बिर्तामोड । उपयोगभन्दा नेपालमा दुरुपयोग बढी भइरहेको सामाजिक सञ्जालको चुनौतीका विषयमा आज बिर्तामोडमा एक अन्तरक्रिया गरिएको छ ।

नयाँपेपर डटकमको मातृ संस्था प्राइड मिडिया प्रालिद्वारा आयोजित अन्तरक्रियामा वक्ताहरुले सामाजिक सञ्जाल नियमनको टड्कारो आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले सामाजिक सञ्जालमा जे लेख्दा र बोल्दा हुन्छ अनि जस्तोसुकै भिडियो अपलोड गर्दा हुन्छ भन्ने विकृत भावनाको विकास भएको बताइन् ।

सामाजिक सञ्जालमा धेरै विकृति भएको औंल्याउँदै उनले त्यसलाई नीति बनाएरै व्यवस्थित गर्नुपर्नेमा जोड पनि दिइन् । कानून र विधि बनाएर सामाजिक सञ्जालको नियमन गर्न ढिला भइसकेको उनको भनाइ छ ।

गतल सूचना र अफवाह फैलिने भएकाले सामाजिक सञ्जाल माथि नियमन आवश्यक रहेको नगरप्रमुख प्रसाईंको तर्क छ ।

कार्यक्रमका अर्का वक्ता पत्रकार गणेश पोखरेलले सामाजिक सञ्जाल साक्षरतामा जानुपर्नेमा जोड दिए । परम्परागत मिडियालाई अहिलेको प्रविधियुक्त मिडिया बाउनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।

अर्कावक्ता कानून व्यवसायी तारामणि सापकोटाले मूलधारको मिडियासँग प्रतिस्पर्धा गर्नसक्ने वैकल्पिक माध्यमका रुपमा सामाजिक सञ्जालको रुपमा देखिएको बताए ।

औपचारिक र अनौपचारिक मिडियामध्ये सामाजिक सञ्जाल अनौपचारिक मिडियाका रुपमा रहेको बताउँदै पूर्वपत्रकार सापकोटाले सामाजिक सञ्जालको प्रयोगले सूचना माथिको एकाधिकार अन्त्य भएको जिकिर गरे ।

अतिथि वक्ताका रुपमा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा विकास भएको बताए । सामाजिक सञ्जाललाई नागरिक पत्रकारिता भनिए पनि विश्वसनीयता र जवाफदेहिताका लागि मूल पत्रकारिता नै आवश्यक रहेको उनको भनाई छ ।

अतिथि वक्ताका रुपमा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कतिपयले यसैबाट रोजगारी सिर्जना गरेको आफूले सुनेको बताए ।

अन्तरक्रियामा सहभागीका रुपमा साझा मञ्च टडकमका सम्पादक गोपाल काफ्लेले सामाजिक सञ्जालमा फेक न्यूज (गलत सूचनाहरु) धेरै आउने गरेको र सामाजिक सञ्जालको उपयोग हेट स्पीच (अरुलाई खुइल्याउने काम) मा प्रयोग भएको चर्चा गरे ।

नेपाल सरकारले सामाजिक सञ्जाल सेवा प्रदायकहरुलाई सूचीकृत हुन पटक पटक गरेको आग्रह अस्वीकार गरी मेटा लगायतले नेपालमा व्यवसाय गरिरहेकाले जुनसुकै समयमा फेसबुक, इन्स्टा आदि बन्द गरिएमा अनौठो नमान्न पनि सुझाए ।

कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, चलचित्र पत्रकार संघ झापा सचिव एकराज प्रधान, पत्रकार मनकुमार गदाल लगायतले सहभागीको तर्फबाट आफ्ना धारणा राखेका थिए ।

पत्रकार उमाकान्त खनालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सामाजिक सञ्जाल सम्वादको सस्तो र लोकप्रिय माध्यम भए र राम्रो कामका लागि बरदान सावित भएको बताए । उनले प्रमोशनल कामका लागि सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने पनि सुझाव दिए ।

सोही कार्यक्रममा नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरिएको छ । प्राइड मिडिया प्रालिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई प्राइड मिडियाका सञ्चालक सदस्य पदम श्रेष्ठले शाब्दिक स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण नयाँपेपर डटकमका प्रधान सम्पादक रमेश तिवारीले गरेका थिए ।