
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि कक्षा १२ को परीक्षा दिइरहेका छन्।
तीनकुने घटनामा पक्राउ परेकाले परीक्षा दिन पाएनन् भन्ने चासो देखिएकोप्रति लक्ष्य गर्दै प्रहरीले तीनकुने घटनामा पक्राउ परेका एक जनाले परीक्षा दिइरहेको बताएको छ।
कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको हो। तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका एक जनासहित ६ जनाले कक्षा १२ को परीक्षा दिन थालेको प्रहरीको भनाइ छ।
जिल्ला शिक्षा समन्वयसँग सहकार्य गरेर थुनुवाहरूलाई परीक्षा दिन लगाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
‘हाम्रै खर्चमा उनीहरूलाई पञ्जकन्या स्कुलमा परीक्षा सेन्टर तोकेर परीक्षा दिन लगाइएको छ। काठमाडौं जिल्लाभित्र पक्राउ परेका कसैलाई १२ को परिक्षादिनबाट बञ्जित गराइएको छैन,’ उनले भने।
प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई सोधपुछ गरेरै परीक्षामा सहभागी गराइएको उनले बताए।
जसमा चैत १५ गतेको घटनामा अपराधिक उपद्रोव गर्न नहुने कसुरमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतो, अभद्र व्यवहारमा पक्राउ परेका नुवाकोट बिदुर नगरपालिका-२ घर भई काठमाडौं बसुन्धरा बस्ने १९ वर्षीय सिमन घले, अभद्र कसुरमा पक्राउ परेका भरत घर भई हाल काठमाडौं बस्ने अमन साकिनले परीक्षा दिइरहेका छन्।
त्यस्तै अभद्र व्यवहार कसुरमा पक्राउ परेका धादिङ नीलकण्ठ नगरपालिका-१३ का सरोज थापा, सवारी ज्यान कसुरमा पक्राउ परेका स्याङजाका सौगातकुमार विक र चोरी कसुरमा पक्राउ परेका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-१ का दावा शेर्पाले परिक्षा दिइरहेको एसपी बोहराले जानकारी दिए।
उनका अनुसार अहिले परिसरको नियन्त्रणमा रहेका ८ जनाले १२ को परीक्षा दिनुपर्ने थियो। त्यसमध्ये जबरजस्ती करणीमा पक्राउ परेका सर्लाहीका अभयराज सिंह र ज्यान मार्ने उद्योगमा पक्राउ परेका कैलाली गोदावरी नगरपालिका-१० का राजकुमार खडायतले भने परीक्षामा सहभागी नहुने बताएको प्रहरीको भनाइ छ।
‘अस्वीकार गर्नेलाई पनि परीक्षा दिन भनिएको हो उनीहरूले मानेनन्। काठमाडौंका विभिन्न प्रहरी वृतमा नियन्त्रणमा रहेका सबैलाई परीक्षा दिने व्यवस्था गरिएको छ,’ उनले भने।
उनीहरूलाई ल्याउने पुर्याउने र आवश्यक खर्चको व्यवस्था परिसरले नै गरिरहेको उनले बताए।