
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको छ ।
भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।
गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’
घटना हिजो शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।