
काठमाडौं । भारतबाट नेपाल आउने बिजुलीको समय चार घण्टा थप भएको छ । भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आईएक्स) मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको बिजुलीको समय चार घण्टा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।
प्राधिकरणकाअनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । अब औद्योगिक क्षेत्रहरूमा बेलुकी ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ ।
नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य बढेको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।
मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।