
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा ऋण मूल्यको अनुपात (लोन टु भ्याल्यू रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौं संशोधन २०८२) जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब हायर पर्चेज कम्पनीहरुले सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा अधिकतम ६० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने छन् । यसअघि यस्तो ऋणमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिँदै आएको थियो ।
राष्ट्र बैंकले यो व्यवस्था संशोधन गर्दै ४० प्रतिशत अनिवार्य नगद र ६० प्रतिशत रकम भने कर्जा लिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि यही व्यवस्था गरेको थियो ।