
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि तीन दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले ८ मे को बिहानदेखि ११ मेसम्म युद्धविराम लागु हुने बताएको छ ।रुसको यो घोषणाको प्रतिक्रियामा युक्रेनका विदेशमन्त्री एन्ड्रिज सिबिहाले कम्तिमा ३० दिने युद्धविरामको माग गरेको बीबीसीले जनाएको छ ।
दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्ने प्रयासमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी युद्धविराम चाहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
रुसले यसअघि इस्टरको अवसरमा पनि ३० घण्टाको युद्धविराम घोषणा गरेको थियो । यसअघि युक्रेनमा २० पटकभन्दा बढी युद्धविराम प्रयास गरिए पनि सबै असफल भएका थिए । सबैभन्दा पछिल्लो युद्धविराम इस्टर पर्वको अवधीभित्रका लागि मात्र सीमित थियो ।सोमबार रुसले जारी गरेको विज्ञप्तिमा पुटिनले मानवीय आधारमा युद्धविराम घोषणा गरेका बताएका छन् ।“युक्रेनीपक्षले रुसको कदमको अनुसरण गरोस् । युक्रेनीपक्षले युद्धविराम उल्लंघन गरेमा रूसी सेनाले उपयुक्त र प्रभावकारी प्रतिक्रिया दिनेछ,” रुसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “रूसीपक्ष युक्रेनी संकटको मूल कारणको अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारहरूसँग रचनात्मक छलफलमार्फत बिनाकुनै पूर्वसर्त शान्ति वार्ता गर्न तयार छ ।”
यसको प्रतिक्रियामा युक्रेनी विदेशमन्त्री सिबिहाले यदि, रूस साँच्चै शान्ति स्थापना गर्न चाहन्छ भने मे ८ सम्म नपर्खेर तत्कालै युद्धविराम गर्नुपर्छ । यदि, अहिले नै युद्धविराम गर्न सकिन्छ भने पनि ३० दिनको लागि गर्दा इमान्दारिता देखिने बताए । युक्रेनले दीर्घकालीन, टिकाउ र पूर्ण युद्धविराम चाहेको उनले बताए । बीबीसी