
झापा । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौं र रोटरी क्लब अफ बिर्तामोडको सहकार्यमा यहाँका तीनवटा पालिकामा २४ वटा ह्वीलचियर वितरण गरिएको छ ।
रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोक्काले दिएको जानकारी अनुसार हल्दिबारीमा ६ वटा, झापा गाउँपालिकामा १३ वटा र कनकाई नगरपालिकामा ५ वटा ह्वीलचियर बितरण गरिएको हो ।
शनिबार हल्दिबारीका अमित महतो, नेत्रबहादुर राउत, विजय मुर्मू, रोमन नेम्बाङ, धुमबहादुर फुयाँल र राजु तामाङले ह्वीलचियर प्राप्त गरे । तीमध्ये महतोलाई विद्यालय जान आउन परिरहेको समस्या रोटरी क्लबले समाधान गरिदिएको छ ।
जन्मजात अपांगता रहेका महतो घरबाट करिव एक किलोमिटर टाढा रहेको विद्यालयमा ह्वीलचियरको सहयोगबाटै जाने आउने गरेका छन् । रोटरी क्लबले आफूलाई निःशुल्क ह्वीलचियर प्रदान गरेपछि उनी हर्षविभोर भएका छन् ।
अमित घरबाट ह्वीलचियर लिन हल्दिबारी गाउँपालिका कार्यालयसम्म आफैं आइपुगेका थिए । ह्वीलचियर पाएपछि खुशी हुँदै अमितले भने, ‘ह्वीलचियर बिग्रेपछि समस्या थियो अब रहेन ।’ भविष्यमा आइटी पढेर कम्प्युटर सम्बन्धी काम गर्ने उनले सोच बनाएका छन् ।
आफ्नो छोराले ह्वीलचियर पाएपछि अमितकी आमा समरी महतोले पनि खुशी व्यक्त गरिन् । अमित उनका एकमात्र छोरा हुन् । सोही स्कूलमा पढ्ने अमितकी बहिनीले उनलाई ह्वीलचियरमा विद्यालय ल्याउन पुर्याउन सहयोग गर्ने गरेको आमा समरीले बताइन् ।
आफ्नो पालिकाका ६ जनाले ह्वीलचियर पाएपछि हल्दिबारीका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले आयोजक संस्थालाई धन्यवाद दिए । उनले राज्य एक्लैले सबै काम गर्न नसक्ने भन्दै रोटरी क्लबसँगको साझेदारीलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाए । हल्दिबारीमा अपांगता भएका व्यक्तिहरुको संख्या ४३५ रहेको छ ।
भाइस प्रेसिडेन्ट पार्वता खरेल बिमलीले संयोजन गरेको ह्वीलचियर हस्तान्तरण कार्यक्रम अन्तरगत झापा गाउँपालिकाका टीका मर्डी, फिरोज मिया, आसिन कोच, पार्वती गणेश, मोहम्मद सैफुल शेख, विद्यासिंह बस्नेत, आम्बरा खातुन, अप्सना खातुन, तस्लिम मुद्धिन, अभय गणेश, कविरजंग राजवंशी, खुशेदा खातुन र सोमलाल हस्दाले ह्वीलचियर पाएका हुन् ।
रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंकै सहयोगमा रोटरी क्लब अफ सुरुङ्गाले पनि पाँच जनालाई ह्वीलचियर प्रदान गरेको छ ।
विनिता दर्जी परियार, देवेन्द्र बस्नेत, रोशन दाहाल, सनिल न्यौपाने र शिलादेवी भट्टराईलाई ह्वीलचियर प्रदान गरिएको हो ।
यसैबीच रोटरी क्लब अफ डिल्लीबजार र रोटरी क्लब अफ बिर्तामोडले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा बालमैत्री कक्षाका लागि सहयोग गरेका छन् ।
विद्यालयका कक्षा कोठामा कार्पेट, भित्ते चित्र, फाइवरको पाँचवटा राउन्ड टेबल सहयोग गरिएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले जानकारी दिए ।