
झापा । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएका छन् ।
बीसीसीआईका उपाध्यक्ष शुक्लाले आफूहरू पीडितको साथमा रहेको र सरकारको अडानका कारण पाकिस्तानसँग द्विपक्षीय शृङ्खला नखेल्नेमा जोड दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतियोगितामा भने पाकिस्तानसँग खेल्ने उनले बताए। पहलगाममा भएको आक्रमणबारे आईसीसीलाई पनि थाहा भएको र उसले निर्णय गर्ने उनको भनाइ छ ।
भारत र पाकिस्तानले पछिल्लो पटक सन् २०१२–२०१३ मा द्विपक्षीय शृङ्खला खेलेको थिए । त्यति बेला पाकिस्तान सीमित ओभरको क्रिकेट शृङ्खला खेल्न भारत गएको थियो ।
भारत पछिल्लो पटक सन् २००८ एशिया कप खेल्न पाकिस्तान गएको थियो । तर भारतले सन् २००५–२००६ पछि द्विपक्षीय क्रिकेटका लागि पाकिस्तानको भ्रमण गरेको छैन ।
मङ्गलवार पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको थियो ।