
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि १४४ रनको लक्ष्य पछ्याएको मुम्बईले १५ ओभर ४ बलमा तीन विकेट गुमाउँदै भेट्टायो । उसका रोहित शर्माले सर्वाधिक ७० रन बनाए । सूर्यकुमार यादव ४० रनमा अविजित रहे ।
हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । उसले १३ रन जोड्दा ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्टले ४ तथा दीपक चाहरले २ विकेट लिए । मुम्बईको ९ खेलमा १० अङ्क छ । ८ खेलमा छैटौं हार बेहोरेको सनराइजर्स तालिकाको नवौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।