
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदैछन् । यसअघि उनी गएको शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले भोलि हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ ।
दोस्रो क्वालिफायरमा भोलि फाइनल प्रवेशको लागि पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । ललितपुर सिटी यसअघि फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ । रोबर्टो कार्लोसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । कार्लोसले १२५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् ।