
ताप्लेजुङ । पाथीभरा दर्शनका लागि गएका तीर्थयात्रु सवार बुलेरो गाडीमा विधुत्को करेन्ट लागेर भएको दुर्घटनामा ४ जनाको मृत्यु र २ जना गम्भिर घाइते भएका छन् ।
सदरमुकाम फङुलिङ–काफ्लेपाटी सडक खण्डको सेवारो चोकमा गुडिरहेको गाडीमा आगलागी हुँदा उक्त घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सवारी चालक फुङ्लिङ नगरपालिका १० फुरुम्बुका दुर्गा भट्टराई,सहित यात्रुहरु झापा भद्रपुरका विनोद पौडेल, निजकै श्रीमती सरिता पौडेल र ललितपुरकी आध्या आचार्य रहेका छन् ।
सो गाडीमा सवार ललितपुरकी सबिना आचार्य र उनको छोरा भबिन आचार्यको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी रहेको बताइएको छ ।
फुङ्लिङबाट पाथीभारा दर्शनका लागि जाँदै गरेका यात्रुहरु सवार मे १ च ३०११ नम्बरको बुलेरो गाडीमा सडकमा बिजुलीको पोलबाट खसेको करेन्ट भएको तार गाडीमा ठोकिँदा करेन्ट लागि आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रवि रावलले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रावलको नेतृत्वमा १५ जनाको टोली परिचालित रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
उक्त घटनाबारे जानकारी पाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले घटनाको सत्य तथ्य अबिलम्ब छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीको सचिवालयबाट अफिसियल पत्राचार गरिएसँगै मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकबाट पनि यस्तो सन्देश प्रवाह गरेका हुन् । उनले लेखेका छन् :
आज बिहान ताप्लेजुङ जिल्लास्थित सुकेटार बिमानस्थल नजिक गुडिरहेको यात्रु बाहक जिपमा बाटोमा झरेको बिजुलीको तारद्वारा करेण्ट लागेर गाडीमा सवार ड्राइभरसहित ४ जना यात्रुको अत्यन्तै दुःखद मृत्यु भएको छ। एक जना महिला र बालक घाइते हुनुभएको छ। घाईतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उहाँहरुलाई तत्काल थप उपचारको लागि काठमाडौं लैजान प्रयास भइरहेको छ।
सम्पूर्ण मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली ! शोकाकुल परिवारजन प्रति गहिरो दुःख एवम् हार्दिक समवेदना । घाईतेको शीघ्र स्वास्थलाभको कामना गर्दछु। घटनाको सत्य तथ्य अबिलम्ब छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासनलाई निर्देशन गर्दछु ।