२०८२ वैशाख ८, सोमवार , १०:०५:०५ बजे

Sajhamanch
'

शहीद विरेन मार्गमा सडक कालोपत्रे गर्ने कार्य सुरु

आइतवार, वैशाख ७, २०८२

मेचीनगर । मेचीनगरको गौरवको योजनाभित्र समेटिएको शहीद विरेन मार्गमा आज आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिएको छ ।

मेचीनगर ९ मागुरमाडीस्थित थोप्लेविरान समुदायिक वन छेउबाट खुट्टेडाँगी चोकसम्मको शहीद विरेन मार्ग सडकको कालोपत्रे गर्ने काम सुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा धुलाबारीदेखि थोप्ले विरानसम्म साढे पाँच किलोमिटर सडक निर्माण भइरहेको हो ।

नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले उक्त सडक गत बैशाखमा सम्झौता गरेर एनएनटी डेभलपर भारतको पटना कम्पनीलाई ठेक्का दिइएको बताए ।

उनका अनुसार आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिएको छ । ११०० मिटरमध्ये दैनिक ३०० मिटर कालोपत्रे हुने छ । क्रमशः कालोपत्रे हुँदै जानेछ ।

भट्टराईका अनुसार आगामी १५ जुलाई सन् २०२५ मा सक्ने गरी उक्त सडक निर्माणको ठेक्का २७ करोड २१ लाख ३ हजार ९३१ रुपैयाँ ७९ पैसामा सम्झौता गरिएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले थोप्लेविरानदेखि धुलाबारी चोकसम्मको साढे ५ किलोमिटर ड्रेनसहित गुणस्तरीय अस्फाल्ड कालोपत्रे् सडक निर्माण भइरहेको बताए ।

आजदेखि सुरु भएको कालापत्रे सडकको नगर प्रमुख बुढाथोकी, ९ नम्बर वडाका वडा सदस्यहरु राजन खड्का, सुष्माडोली कार्की, धनबहादुर श्रेष्ठ, करुणा राजबंशी, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल लगायत स्थानीयले अवलोकन गरेका थिए ।

यसैगरी नगरपालिकाको गौरवको योजना अन्तरगत काँकरभिट्टा स्थित सूर्योदय मार्गको काम पनि धमाधम भइरहेको छ ।

सूर्योदय मार्ग अन्तरगतको शहीद विश्वनाथ घिमिरे मार्गको काँकरभिट्टादेखि बाहुनडाँगी बजारसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर