
झापा । वि. संं २०६२/०६३ को दोस्रो जनआन्दोलनमा शहीद भएका सुरज विश्वास र राजन गिरीको स्मृतिमा आज चन्द्रगढीमा स्मृति सभा गरिएको छ ।
गणतन्त्र नेपाल स्थापनार्थ भएको दोस्रो जनआन्दोलनमा सहादत पाएका विश्वास र गिरीको स्मृतिमा नेपाल विद्यार्थी संघ झापाले सभा गरेको हो ।
कार्यक्रममा शहीदद्वयका मातापिता लगायत लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गरिएको थियो । शहीद पिता केदारशमशेर गिरी, माता मिनु विश्वास, जनआन्दोलनका घाइतेहरु गोविन्द कडरिया, गोपाल श्रेष्ठ, सिन्धु उप्रेती र २०६२/६३ को जनआन्दोलनका विशिष्ट कमान्डर सुधीरकुमार सिवाकोटीलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सम्बोधन गर्दै झापाली भूमिमा रगत बगाएका सुरज विश्वास र राजन गिरीको सपनाका रूपमा स्थापित गणतन्त्रको कहिल्यै अन्त्य नहुने धारणा राखे ।
काँग्रेस नेता सिटौलाले राजावादीको आन्दोलनको कुनै अर्थ नरहेको भन्दै लाखौं जनता एकैचोटी सडकमा आएर ल्याएको गणतन्त्र केही अराजक भीडले हल्लाउन नसक्ने प्रष्ट पारे ।
त्यो बेला राजाले सही काम नगरेका कारण जनआन्दोलनबाट राजा फालिएको बताउँदै कांग्रेस नेता सिटौलाले वर्तमान संविधानले राजालाई कुनै स्थान नदिएको पनि स्पष्ट पारे ।
उनले आम जनमानसमा राजा राजगद्धीमा फर्किन्छन् भन्ने भ्रम छरेर अन्यौल सिर्जना गर्ने प्रयास भइरहेकोले त्यस्ता जनविरोधी अभियान असफल नहुने र राजा फर्किन्छन् भन्ने सोच दिवा सपना मात्र भएको बताए ।
नेता सिटौलाले त्यत्रा शहीदहरुको बलिदानबाट संस्थागत भइसकेको गणतन्त्रको विकल्प अन्य तन्त्र हुनै नसक्ने पनि प्रष्ट पारेका थिए ।
नेवि संघ झापाका सभापति सञ्जय निरौलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गोकुल पौडेलले गरेका थिए ।