
झापा । महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने भएको छ । यही वर्षको अन्त्यमा हुने महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले बताए।
यस वर्ष ‘हाइब्रिड मोडेल’ अपनाइएपछि पाकिस्तानका खेलहरू तटस्थ मैदानमा आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र आयोजक भारतले तटस्थ मैदान छनोट गर्ने पीसीबीका अध्यक्ष नकवीले जानकारी दिए।
जसरी भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेलेन र तटस्थ मैदानमा खेल्न अनुमति पायो, त्यसरी नै पाकिस्तानले पनि तटस्थ मैदानमा खेल्ने उनको भनाइ छ । एकपटक सम्झौता भएपछि त्यसको पालना गर्नुपर्ने पीसीबीका अध्यक्ष नकवीले बताए।
हाइब्रिड मोडेल अनुसार सन् २०२७ सम्म भारत वा पाकिस्तानमा आयोजना हुने आईसीसी प्रतियोगितामा दुवै टोलीले एकअर्काको देशमा खेल्नुको सट्टा तटस्थ ठाउँमा खेल्नेछन् ।
यस वर्ष महिला एकदिवसीय विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म आयोजना हुँदैछ । छनोटका ५ वटै खेल जित्दै पाकिस्तान महिला एकदिवसीय विश्वकपमा छनोट भएको हो ।
यस विश्वकपमा पाकिस्तान र आयोजक भारतसहित पूर्वविजेता अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलङ्का सहभागी हुनेछन् ।