२०८२ वैशाख ७, आइतवार , ०२:२७:३४ बजे

Sajhamanch
'

राजतन्त्र फर्काउनेहरू आफ्नो काल आफै निम्त्याउने खोज्दैछन् : नेता सिटौला

आइतवार, वैशाख ७, २०८२

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र फर्काउनेहरू धेरै छटपटाइरहेकोले आफ्नो काल आफै निम्त्याउने खोजेको बताएका छन् ।

आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै राष्ट्रिय सभाका सदस्यसमेत रहेका सिटौलाले यस्तो बताएका हुन् ।

राजा हुँदा दरबार वरिपरि बसेर गरेको मस्ती त्यो अहिले भएन । पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ । यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस् । ‘आफ्नो काल आफै निम्त्याउन नखोज्नुहोस्,’ नेता सिटौलाले भने, ‘यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्नुहोस् ।’

ज्ञानेन्द्र शाह पूर्व राजा होइन, अब अन्तिम राजा हुन् । ज्ञानेन्द्रलाई प्रश्न गर्दै सिटौलाले भने, ‘तपाई उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लागेर फाल्ने छन् ।’

तपाई सम्मानपूर्वक आफ्नो ठाउँमा शान्त भएर बस्नुहोस् । तपाई जनताको सेवामा लाग्न लाग्नुहोस् । ‘तर, म फेरि राजा बन्छु भन्ने चाहिँ कल्पना पनि नगर्नुहोस्, सपना पनि नबाड्नुहोस,’ सिटौलाले थपे ।

देशमा अहिले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ । गणतन्त्र चाहिँदैन भन्नेहरू भत्ता, सत्ता, मन्त्रीलगायत सारा पदहरू लिएर पनि राजा चाहियो भनेर ढलेको दरबारको चाकडी गर्न पनि पछि हटेको छैनन् । कहाँ रोकेको छ यो व्यवस्थाले ? हुँदै नसक्ने बाटोमा, फर्किनै नसक्ने बाटोमा किन जान खोज्नु हुन्छ ? राजा वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र राजा भए । धेरै समय लागेन ज्ञानेन्द्र, महेन्द्र पथ तिर फर्किन । त्यसैले हामीले भनेऔँ यो पश्चगामी र प्रतिगामी कदम हो, र जनताले त्यो व्यवस्था ढालेर देशमा लोकतन्त्र र गणतन्त्र व्यवस्था ल्याएको उनले बताए ।

‘राजाहरूको पालामा दलित समुदायका कुनै व्यक्ति पनि अफिसर बन्ने सुन्नु भएको थियो ? देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भएपछि अहिले दलित लगायत अन्य समुदायबाट पनि अफिसर बन्न पाएका छन्,’ उनले भने ।

सम्बन्धित खबर