
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ । स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।
शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।
सामुदायिक विद्यालय बन्द भएको मौकामा निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका भन्दै विज्ञप्तिमा सार्वजनिक विद्यालयबाट विद्यार्थी बाहिरिरहेका दाबी गरिएको छ ।
शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसद्मा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववियुले माग गरेको छ । विद्यालय फर्किन शिक्षकहरूलाई अनेरास्ववियुको आग्रह छ ।