
काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो ।
यसअघि शिक्षक आन्दोलनका कारण माइतीघर–बानेश्वर खण्ड दिउँसो बन्द गरिँदै आएको थियो । तर, आज दिउँसो राप्रपाले विजुलीबजार सहित निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरु दिउँसोको समय सारेर बिहानै ९ बजेदेखि प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले शिक्षक आन्दोलनका कारण बिहानैदेखि सवारी आवागमन प्रभावित भएको बताए ।
उनका अनुसार बानेश्वर–बबरमहल–माइतीघर खण्ड बन्द गरिएपछि सवारी आवागमन खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ । जसले गर्दा करिडोरहरुमा पनि जाम भइरहेको छ ।
बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ । बिहान ९ बजे नै शिक्षकहरुले आन्दोलन सुरु गर्दा कार्यालय हिडेका कर्मचारी, स्कुल हिडेका विद्यार्थी तथा आफ्ना गन्तव्यमा हिँडेका आम नागरिकले सास्ताी खेप्नुपरेको छ ।