
मेचीनगर । पास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता हित संरक्षण विभागले तोकेका निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीले पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटिएपछि मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगका सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिएका हुन् ।
उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीले नगरपालिकामा आज शुक्रबार जरिवाना वापतको ५० हजार रुपैयाँ राजश्व तिरेकी छन् ।
गत चैत २७ गते मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकायको टोलीको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा उक्त उद्योगमा पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटेको थियो ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले पूजा फुड प्रोडक्सनले जरिवाना तिरेकोले अबदेखि त्यस्तो गल्ती नगर्न सचेत गर्दै आइतबार उद्योगको ताला खोलिदिने बताए ।