
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।
खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग परेका छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् ।
दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालीकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् ।
कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । अहिले यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् ।
दैलेखमा चार हजार ७४८ उद्योग दर्ता गरिएकामा अहिलेसम्म तीन हजार ५९१ उद्योगको नवीकरण गरिएको छ । कालीकोटमा दुई हजार ८३७ उद्योग दर्ता भएकामा अहिले एक हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ ।
यसैगरी जुम्लामा चार हजार ३८६ वटा उद्योग दर्ता भएकामा दुई हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए।
मुगुमा दुई हजार २३ वटा उद्योग रहेकामा अहिले ४५० वटा मात्र नवीकरण भएका छन् । सल्यानमा तीन हजार ६६३ वटा उद्योग रहेकामा तीन हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।
जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । डोल्पामा दुई हजार २३६ उद्योग दर्ता भएकामा ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ ।
हुम्लामा तीन हजार ७१९ वटा उद्योग दर्ता भएकामा अहिले आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ । रुकुम पश्चिममा दुई हजार ७३३ उद्योगमा दुई हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।
एक लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएका निर्देशनालयले जनाएको छ ।