२०८२ वैशाख ६, शनिवार , १२:४९:०८ बजे

Sajhamanch
'

कार्यान्वयन हुने खालको बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न उनीहरुको जोड छ ।

पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

यस्तै, स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि उनीहरुको सुझाव छ । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री डा।प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजनाहरू ल्याउन आग्रह गरे।

अर्का पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरुरी रहेको भन्दै बनेका पूर्वाधारहरूलाई सदुपयोग गर्नुपर्ने बताए।

त्यसैगरी, पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयतमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए।

अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको भन्दै सरकार यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको जानकारी दिए।

सम्बन्धित खबर