२०८२ वैशाख ६, शनिवार , १२:४१:१८ बजे

Sajhamanch
'

आजदेखि कञ्चनजंघा हीरक महोत्सव

शुक्रवार, वैशाख ५, २०८२

ताप्लेजुङ । ​कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हिरक महोत्सव-२०८२’ आयोजना हुँदैछ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव शुक्रबारदेखि आइतबार (५ देखि ७ गते) सम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन आज गरिने छ भने तीनदिने महोत्सव अवधिभर कञ्चनजंघा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुनेछन्।

परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा ताप्लेजुङका छ जना कञ्चनजंघा आरोहीलाई सम्मान गरिने छ। सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा रहेका छन्। ‘कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्वस आयोजना हुन लागेको हो।

कञ्चनजंघाविश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर मानिएको छ। सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजंघाको दक्षिणी मोहोडाबाट पहिलोपटक सफल आरोहण गरेका थिए। सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मा भएको थियो।

शुक्रवार, वैशाख ५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर