
काठमाडौं । गुल्मी, प्यूठान, सल्यान, बागलुङ, हुम्ला, दाङलगायत पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतिर सरिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बिहानैदेखि पश्चिम नेपालमा पानी परेकोमा त्यही प्रणाली पूर्वतिर सरिरहेको हो ।
पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भइरहेको वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्यूठानको स्वर्गद्वारीमा ६ घण्टामा ३२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै रोल्पा, दैलेख, गुल्मीलगायतका जिल्लामा पनि ६ घण्टामा २० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
पश्चिममा पानी पारिरहेको प्रणालीले लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र हुँदै बागमती र कोशी प्रदेशमा समेत वर्षा गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले काठमाडौं उपत्यकासहित असपासका क्षेत्र र कोशी प्रदेशका केही जिल्लामा पनि पानी परिरहेको छ ।
महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँलगायतका बाली अहिले नकाट्न किसानलाई मौसमविद्ले सुझाव दिएका छन् ।मौसमविद् हरिप्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।